काठमाडौं – उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आईसीयूमा भर्ना भइरहेका छन्। 

हरेक दिन भेण्टिलेटर र आईसीयूका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा. सागर राजभण्डारीले बताए। 

उनका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन्। उनले भने, ‘शैय्या खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आईसीयूमा सार्ने गरिएको छ।’

अस्पतालको आइसोलेसन र आईसीयू अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा. राजभण्डारीले बताए। 

अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ। 

उनका अनुसार आईसीयूमा रहेका बिरामीलाई समस्या कम भएपछि केही दिनसम्म आइसोलेनमा राखेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिँदै आएको छ। 

अस्पतालमा गम्भीर समस्या भएका र अक्सिजन दिनुपर्ने बिरामीलाई राखिने गरिएको उनले बताए।

उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढीरहँदा अस्पताललाई त्यसको व्यवस्थापन गर्न गाह्रो भएको निर्देशक डा राजभण्डारीले बताए। 

उनका अनुसार अस्पतालले केही शैय्या बढाउन लागेको भए पनि अस्पतालको क्षेत्र नै साँघुरो भएकाले धेरै बढाउनसक्ने अवस्था छैन। अरु समस्या हुँदाजस्तो नभएर कोभिडका बिरामीलाई दूरी कायम गरेर राख्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। 

अस्पतालमा केही समय पहिले दुई भेन्टिलेटर थपिएको थियो। अहिले छ आइसोलेसन शैय्या, चार आईसीयू र एक भेन्टिलेटर थप गर्न लागिएको उनले बताए। 

अस्पतालमा परीक्षण गराएर पोजिटिभ रिपोर्ट आएपछि धेरै सङ्क्रमितले मलाई यही राख्नुपर्छ भन्दै झगडा गर्ने गरेको निर्देशक डा राजभण्डारीले  बताए। 

अस्पतालले अक्सिजन नै चाहिने प्रकृतिका सङ्क्रमित मात्रै राख्ने बताएपछि उनीहरु झगडा गर्न आउने उनको भनाइ।

कतिपयले अस्पतालमा स्वास्थ्यकर्मीलगायत कर्मचारीसँग झगडा गर्न आउने गर्छन् । अस्पतालले भर्ना गर्ने भनिएका प्रकृतिका गम्भीर बिरामीलाई समेत भन्नासाथ लिन सकिने अवस्था नभएको उनको भनाइ छ। रासस

तपाईको प्रतिक्रिया