काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार एवं निर्माता भुवन केसीले कलाकार संघमा उजुरी दिएका छन् । उनले आज कलाकार संघमा आफूमाथि लगाइएको आरोपबारे छानिबन गर्न निवेदन दर्ता गराएर शाहमाथि दुव्र्यहार नगरेको बताएका हुन् ।

यस अघि अभिनेत्री शाहले इन्स्टाग्राममा भिडियो पोस्ट गरेर पाँच वर्षअघि आफूमाथि ठूला ब्यानरका चलचित्र निर्माताहरूबाट दुर्व्यवहार भएको बताएकी थिइन् । साम्राज्ञीको भिडियोको खण्डन गर्दै केसीले फेसबुकमा प्रतिवाद गरेका थिए । यसपछि साम्राज्ञीले भिडियोमार्फत आफूमाथि दुर्व्यवहार भएको अडान लिएकी थिइन् ।

अभिनेत्री शाहले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्‍नामी भएको भुवनले दाबी गरेका छन् । ‘आजभन्दा ५/६ वर्षअगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’मा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिखेर काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ,’ उनको उजुरीमा लेखिएको छ ।

केसीले भए–नभएको कुरालाई सामाजिक सञ्जालमा राखी युट्युबलगायत विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्रहत्या गर्ने दुस्साहस गरिएकोमा आपत्ति जनाउँदै लेखेका छन्, ‘सम्पूर्ण चलचित्र क्षेत्रको नै बदनाम भएको अनुभव गरी त्यस सम्बन्धमा छानबिन गरी आमदर्शक र चलचित्र क्षेत्रलाई जानकारी गराइदिन निवेदन गर्दछु ।’

तपाईको प्रतिक्रिया