काठमाडौं – २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको बंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।

त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन।

यस प्रकरणपछि घाइते अवस्थामा रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो । दरबार हत्याकाण्डमा ज्यान गुमाएका सबैको सामुहिक दाहसंस्कार गरियो । तीन दिनपछि दीपेन्द्रलाई पनि मृत घोषित गरियो । त्यसपछि ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए। उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन्।

घटनाको छानबिन गर्न तत्कालीन सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदनले गोलीकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेको थियो। तर यसलाई धेरैले पत्याएका छैनन्। अहिलेसम्म त्यो हत्याकाण्ड कसले र किन ग‍र्यो भन्ने वास्तविकता अझै रहस्यकै गर्भमा छ।

तपाईको प्रतिक्रिया