काठमाडौं – चन्द्रागिरी नगरपालिका–१५ तिनथाना बस्ने राजेश मानन्धरको घरबाट करिब १७ लाख ६१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको घट्नामा संलग्न रही फरार रहेका ६ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डि नगरपालिका – १० का आकाश मगर, कीर्तिपुर नगरपालिका–१० बस्ने सौरभ महर्जन, कीर्तिपुर नगरपालिका–३ कुटुझोल घर भएका २० वर्षीय अभिषेक महर्जन, उदयपुर कटारी नगरपालिका–५ घर भएका १९ वर्षीय अञ्जना मगर, काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ बस्ने धादिङ गजुरी गाउँपालिका–७ घर भएकी २४ वर्षीया उषा भन्ने बिमला तामाङ र धादिङ जिवनपुर घर भएकी २० वर्षीया एन्जल भन्ने कबिता मगर रहेका छन् ।

पक्राउ परेकामध्ये अञ्जना मगर, अभिषेक महर्जन र कबिता मगरलाई चन्द्रागिरी नगरपालिका–१५ तिनथानाबाट, विमला तामाङलाई ईलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ महर्जन र आकाश मगरलाई कीर्तिपुर नगरपालिका–३ चिहानघाटबाट प्रहरीले पक्राउ गरेको हो ।

साथै महानगरीय अपराध महाशाखा, टेकुबाट खटिएको प्रहरीले गत जेठ १ गते दोलखा घर भएका छिरिङ लामा भन्ने रबिन तामाङलाई राजेश मानन्धरकै घरबाट चोरी गरेको मुर्ति २ थान, ३२ ईन्चको टिभि, कम्प्युटरको मनिटर १ थान लगायतका सामानहरू सहित पक्राउ गरिसकेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

पक्राउ अभियुक्तहरु उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ ।

भिडियो………..

तपाईको प्रतिक्रिया