गाैरी तमू

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड–१९ को कारण यति बेला देश लकडाउनमा छ । लकडाउनले हामी फुर्सदिला भयौं । पुस्तक पढ्ने, चलचित्र हेर्ने, परिवारसँगै मीठामीठा परिकारहरू बनाएर खाने र बालबालिकाका लागि भरपूर समय दिने वातावरण लकडाउनले सिर्जित गर्‍यो ।

यन्त्रजस्तै भइसकेको हामी मानिसलाई मानिसजस्तै बनाइदियो । लगडाउन सुरु भइसकेपछि सामाजिक सञ्जालभरि बिस्तारै पुराना तस्बिरहरू देखिन थाले । गाउँघरका पनि तस्बिरहरू आउन थाले । यी तस्बिरहरू साँच्चिकै मनमोहक थिए ।

जति यी तस्बिरहरू मनमोहक थिए त्यसको तुलनामा कैयौं गुणा बढी कुरूप महिलामाथि व्यङ्ग्य गरेर लेखिएका फेस्बुक स्टाटस र फोटाहरू थिए । नेपालीमा मात्रै होइन हिन्दीमा समेत लकडाउनका बेला महिलालाहरू शान्त होऊन् ता कि पुरुषहरू शान्तसँग घरमा बस्न सकून्, महिलाका कचकच सुनेर पुरुषहरूको कानको लोती नबढून्, ब्युटिपार्लर बन्द भए महिलाहरू जंगली देखिन्छन् जस्ता पोस्टहरू समाजिक सञ्जालमा हुन्थे ।

अझै योभन्दा भद्दा मजाक, अबको ९ महिनापछि नेपालको जनसंख्या वृद्धि हुन सक्ने संकेतसहित गर्भवती महिलाको नाङ्गो तस्बिरसहितको व्यङ्ग्य थियो । र, थियो— उक्त पोस्टमा कमेन्ट गर्दै लकडाउन उत्सव मनाइरहेको पुरुष मानसिकता । योभन्दा तुच्छ र दरिद्र मानसिकता अरू केही छैन भन्ने मलाई लाग्छ । व्यङ्ग्यचेत र क्षमताहुनेहरूले दु:खी, गरिब, कमजोर र महिलामाथि व्यङ्ग्य गर्दैनन् । संसारमा व्यङ्ग्यका लागि यीबाहेक अरू हजारौं विषयवस्तु छन् ।

एउटी महिला गर्भवती हुनु, आमा बन्नु सृष्टिकै सुन्दर सृजना हो । यो सृष्टिमा योभन्दा बढी सुन्दरता अरू के हुन सक्छ ? ब्युटिपार्लर नगएका सबै महिला कुरूप छैनन् र जंगली हुँदैनन् । यस्तो हुन्थ्यो भने जिन्दगीभर ब्युटिपार्लर नगएका गाउँघरका हाम्रा आमा, हजुरआमाहरू आफ्ना सन्तानका लागि विश्व सुन्दरीभन्दा कैयौं गुणा बढी सुन्दर किन छन् ? बरु जंगली त यस्ता पाखण्डी सोचले ग्रस्त हाम्रो मानसिकता हो ।

कोरोनाले विश्व आक्रान्त छ, संक्रमण बढिरहेको छ, मान्छेहरू मरिरहेका छन् अत्यावश्यक सामग्रीहरूको अभाव भइरहेको छ । सहर र सडकहरू सुनसान छन् ।सरकारसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरू आफ्नो ज्यानको बाजी थापेर स्वास्थ्य, सुरक्षा र सूचनाका क्षेत्रमा अहोरात्र खटिरहेका छन् । हाम्रै भलाइका लागि घरभित्रै बस्न अनुरोध पनि गरिरहेका छन् । तर लकडाउनको पहिलो दिनदेखि नै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा नेपालीको प्रवृत्ति छताछुल्ल भयो । हामी प्रहरीको आँखा छलेर सवारीसाधन हुइँक्याउँदै र उल्टै प्रहरीसँग झगडा गरिरहेका थियौं । त्यसपछि प्रहरीले बाध्य भएर चाबी खोसेको र लाठी बर्साएको दृश्य हामी नेपाली हौं भन्नका लागि बडो लाजमर्दो र दु:खलाग्दो थियो ।

सामाजिक सञ्जालमा लेख्नुपर्ने, बहस र छलफल गरिनुपर्ने बग्रेल्ती विषयवस्तु छन् । तर यो संवेदनशील अवस्थामा हामी भने जाँगर लगाएरै, समय खर्चेरै महिलामाथि भद्दा मजाक गरिरहेकै छौं । हामीले कहिल्यै सोचेनौं कि, महिला पनि मान्छे हो, कसैको रमाइलोका लागि व्यङ्ग्य गरिने वस्तु होइन । उसमा पनि मानवीय चेत र संवेग छ ।

महिलामाथि हुने गरेका यस्ता व्यङ्ग्य हुन् वा उखानटुक्काहरूको प्रयोग लकडाउनले सिर्जित समस्या भने होइन । बरु हामीले बाँचेको समाज, संस्कार र पितृसत्तात्मक सोचका उपज हुन्, जसबाट महिला हजारौं वर्षदेखि पीडित छन् । देशमा जतिसुकै राजनीतिक परिवर्तनहरू आए पनि महिलाका लागि जति हुनुपर्ने हो त्यति भएकै छैन । महिला पीँधमै छन् र समस्या उस्तै छ ।

अहिलेकै सन्दर्भमा हेरौं, नेपालमा ‍औंलामा गन्न सकिनेबाहेक सबै नर्स महिला नै छन् । कोरोना हेल्थ डेस्कदेखि प्रदेश र संघीय हस्पिटलहरूको अग्रपंक्तिमा रहेर जोखिमपूर्ण अवस्थामा महिला नर्सले काम गरिरहेका छन् । शिशुलाई स्तनपान गराउँदै गरेका वा गर्भवती महिला नर्सका समस्या केवल महिलाकै समस्याका रूपमा हेरिन्छन् । महिलालाई व्यङ्ग्य गरेर नथाक्ने ओठहरू वा हातहरूले यस्ता समस्याहरूलाई गहिरिएर कहिले बुझ्ने ? कहिले साथ दिने ?

सामाजिक सञ्जालमा अधिकांश पुरुष लेखक र पाठक दिनमा यतिवटा चलचित्र हेरियो र यतिवटा पुस्तकहरू यो लकडाउन अवधिभर पढेर सकिन्छ भनेर लेखछन् । पोस्ट हेर्दा यस्तो लाग्छ, यो उनीहरूका लागि आराम र अध्ययन गर्ने उपयुक्त समय हो ।

यही समयमा महिला लेखक र पाठकका पोस्टहरू महिनौंपछि करेसाबारी गोडमेल गरियो, घरका कुनाकाप्चा, चोटा, चौका सफा गरियो, बालबच्चा र श्रीमान्‌को रुचिअनुसारको परिकारहरू बनाइयो भन्ने खालका हुन्छन् ।

यी कुराहरूले हाम्रो समाजमा अझै पनि महिलाको स्थिति र पुरुषको अवस्था कस्तो छ र महिलाहरू कहाँ अल्मलिरहेका छन् भन्ने प्रस्ट देखाउँछ । अशिक्षा र चेतनाको अभावमा यस्तो भएको हो भन्ने ठाउँ छैन । बरु हामीलाई हाम्रो सामाजिक संरचना, संस्कार, संस्कृति र सिंगो पितृसत्तात्मक सोचले कतिसम्म गाजेको छ भन्ने यस्तो प्रवृत्तिले देखाउँछ ।

अहिलेका सहरिया महिलाहरू प्राय: जागिर वा कुनै व्यवसायमा संलग्न छन् । उनीहरूले जागिरसँगसँगै घर अनि बालबच्चा सम्हाल्दै भान्सासम्म भ्याउनुपर्ने चुनौती छँदै छ । गाउँघरका महिलाहरू त झन् बिनापारिश्रमिक १८ घण्टा काम गर्ने घरेलु मजदुर नै भए । न उनीहरूको कामको मूल्य छ न अस्तित्वको नै । अझै पनि पुरुष अहम्ले महिलाको पनि शरीर हो, मन हो थकाइ लाग्छ र अनेक चाहना हुन्छन् भन्ने सोच्दैन । यस्तो लकडाउनको समयमा आराम गर्ने, अध्ययन गर्ने या श्रीमान्‌का हातबाट बनेका मिठामिठा परिकारहरू खान कहिले पाउने ? यो युगमा पनि विवाह नामको संस्थाबाट पुरुषले महिलालाई आरामसँग शोषण गरिरहेकै छन् र महिलाहरू मिसिनजस्तै चुपचाप ‘फ्री’ मा काम गर्ने घरेलु मजदुर भइरहेकै छन् । तर कहिलेसम्म ?

तपाईको प्रतिक्रिया