काठमाडौं : शनिबार विहान काठमाडौंको बल्खुस्थित तरकारी बजारमा भीड बढ्दै गयो। लकडाउनका बेला एक केजी तरकारी किन्न पनि मानिसहरू बल्खु आइरहेका थिए।

कोरोनाभाइरस संक्रमण थप फैलन नदिन सरकारले लकडाउन गरेको छ। सडक सुनसान छ। तर बल्खुमा किन यति धेरै मानिसको भीड? यो जिज्ञासा सेतोपाटीले तरकारी बजारका व्यवसायी रहेका रामकुमार शिवाकोटीलाई राख्दा उनले केही कारण देखाए।

बल्खुमा सस्तोमा तरकारी पाइने भएकोले मानिसहरू आएका हुन्। खुद्रा पसलेहरूले लकडाउनको मौका छोपेर तरकारी अचाक्ली महँगोमा विक्री गरेपछि बाध्य भएर मानिसहरू बल्खु धाइरहेका छन्, जसले गर्दा यहाँ सामान्य अवस्थाकै जस्तो भीडभाड छ।

‘यहाँ ३० रूपैंयाँ प्रतिकेजी गोलभेडा लगेर खुद्रा व्यापारीले पाउकै ३० मा विक्री गरिदिन्छन्,’ शिवाकोटीले सेतोपाटीसँग भने, ‘सरकारले अनुगमन गर्न सकेन, जसका कारण मानिसहरू सस्तो तरकारी खोज्दै यहाँ आइरहे र भीड बढ्यो।’

अर्का व्यवासयी रवी साहले तरकारी बजारमा भीड रोक्न सरकारले कदम चाल्नुपर्ने बताए। ‘यस्तै भीड रहिराख्ने हो भने तरकारी बजारबाटै कोरोना फैलन सक्छ,’ उनले भने, ‘यहाँ ७७ जिल्लाबाट तरकारी आउँछ। तरकारी किन्ने मानिस पनि कताकताबाट आउँछन्, आउँछन्।’

तरकारी किन्न दूरी राखेर पालैपालोको व्यवस्था गर्नुपर्ने र सेनिटाइजर अनिवार्य लगाउने व्यवस्था मिलाउन पनि उनले सरकारसँग माग गरेका छन्। ‘तरकारी बजार संवेदनशील स्थान हो। यहाँबाट नेतादेखि मजदुरसम्मका घरमा तरकारी जान्छ,’ उनले भने, ‘खोइ राज्यले सावधानी अपनाएको?’ 

व्यवसायीले काठमाडौंका अरू तरकारी बजार कालिमाटी, वानेश्वरलगायतमा पनि सावधानी अपनाउनुपर्ने बताए। 

तपाईको प्रतिक्रिया