काठमाडौँ – कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिएपछि चीनका राष्ट्रपति सी चिनफिङले यसविरुद्ध ‘जनयुद्ध’ घोषणा गरे। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन देश लकडाउन गर्दै कोरोनाविरुद्धको लडाइँलाई ‘महाभारत’ को युद्धसँग तुलना गरे।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यो कोरोनाविरुद्ध लड्न दृढ इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताका लागि आह्वान गरे।

यी तीन राष्ट्रप्रमुखको भाषा फरक भए पनि सार एउटै छ– युद्धस्तरमा जुटेर कोरोना भाइरसलाई पराजित गर्ने। चीन यतिबेला कोराना भाइरसविरुद्ध विजयोन्मुख छ। नेपाल र भारत ‘यल्लो जोन’ मा छन्। कोरोना भाइरस रोक्ने अभियानमा दुवै देश लकडाउन छन्।

कोरोना महामारी रोक्न नेपाल र भारतले अपनाएको शैली चिनियाँ मोडेलमा आधारित छ। पहिले मुलुक लकडाउन गर्ने अनि अरु कदम थाल्ने।

वुहानमा कोरोना भाइसरको महामारी मच्चिँदा चीनले के गरेको थियो र त्यसबाट नेपालले कति सिक्यो, कति काम गर्न बाँकी छ? अहिले समीक्षा गर्नु आवश्यक छ।

डिसेम्बर अन्त्यतिर हुबेई प्रान्तको राजधानी वुहानमा देखिएको कोरोना भाइरसले महामारीको रुप लिएपछि चीनले प्रमुख सात काम सुरु गरेको थियो। सुरुमै सी चिनफिङले ‘दुष्ट भाइरस’विरुद्ध लड्न ‘जनयुद्ध’ घोषणा गरे। प्रधानमन्त्री ली खछियाङको नेतृत्वमा महामारीविरुद्ध लड्ने समिति बन्यो, जसरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा नेपालमा विशेष समिति बनेको छ। चीनले यसरी सात चरणमा युद्ध स्तरमा काम थालेको थियो।

१. पूर्ण जिम्मेवारीसाथ काम

हुबेई र खासगरी त्यसको राजधानी वुहानमा संक्रमण थप फैलनबाट रोक्नु पहिलो चुनौती थियो। सहर पूरै सिल गरियो। बिरामीको उपचारका लागि वुहानमा उपचार गर्न ८६ अस्पताल तोकियो। घरघरमा सन्देश पुर्‍याइयो। ‘मास्क लगाउनुस्, साबुनपानीले हात धुनुस्, भीडमा नजानुस्, सेल्फ आइसोलेसनमा बस्नुस्।’ नेपाल सरकारले पहिलो चरणमा गरेको काम पनि त्यही थियो। पहिलो चरणमा उपचारका लागि अस्पताल तोकियो, अस्थायी अस्पताल व्यापक बनाइयो। बिरामी दिन दुई गुणा रात चौगुणाभन्दा बढी हुन थालेपछि अस्पतालको संख्या पनि त्यही रुपमा बढाइयो।

चीनको स्रोत साधनसामु हामीले त्यस्तो गर्न नसके पनि भएकै सरकारी र निजी अस्पतालमा त्यो तयारी अझै देखिएको छैन। कोरोना भाइरस संक्रमितको उपचार गर्ने टेकु अस्पताल हो, त्यसमा पनि भौतिक पूर्वाधार आफैं कमजोर भएको स्वयं चिकित्सकले बताइरहेका छन्। काठमाडौंको पश्चिमी क्षेत्रमा रहेको सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल संक्रमितको उपचार पूर्ण रुपमा गर्ने अवस्थामा पुगेको छैन। पाटन अस्पतालले बल्ल उपचार सुरु गरेको छ। अधिकांश निजी अस्पतालले शक्तिशाली नेपाल सरकारको सामान्य ज्वरोका उपचार गर्न दिएको निर्देशनलाई टेरेको छैनन्। राजधानीबाहिरका प्रदेश अस्पतालको अवस्था आफै बिरामीजस्ता छन्।

एक हिसाबले सरकारले पहिलो चरणमा कोरोनाविरुद्ध ‘वाकयुद्ध’ गरेजस्तो अनुभूति हुन्छ। स्वास्थ्य मन्त्रालय, त्रिवि शिक्षण अस्पताल, अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठान र सम्बन्धित निकायबीच समन्वयको अभाव छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको विशेष समितिको निर्देशनलाई स्वास्थ्य मन्त्रालय र अन्य निकायले पूर्ण जिम्मेवारीका साथ काम गरेको देखिएको छैन।

२. मेडिकल सामग्री सहरमा खन्याइयो

तीन महिनाअघि वुहानमा देखिएको महामारी विश्वभर फैलिन्छ भन्ने अनुमान एक महिनापछि भइसकेको थियो। ‘चीनको भाइरस’ हो भन्ने मानसिकताले त्यसलाई रोक्ने काम नहुँदा हाल विश्व संक्रमणको चपेटामा परेको छ। नेपालले पनि भित्रिन सक्ने अनुमान नगरेको होइन, तर त्यो अनुसार काम भएन।

महामारी फैलिएपछि वुहानलगायत अरु भाइरस फैलिएका सहरमा मेडिकल स्रोत खन्याइयो। चीनको अरु क्षेत्रबाट ४२ हजारभन्दा बढी मेडिकल स्टाफ वुहान पुगे, त्यसमा सेना र सुरक्षा बलका स्वास्थ्यकर्मी पनि थिए। यता नेपालमा स्वास्थ्य मन्त्रालय, सेना र प्रहरी, निजी अस्पतालमा कार्यरत स्वास्थ्य जनशक्तिलाई सरकारले राम्रो समन्वय गर्न सकेको छैन। सरकारी अस्पतालका चिकित्सकहरु उल्टै सरकारी कदमको आलोचना गर्दै हिँडेका छन्।

सुरुका दिनमा वुहानमा पनि मेडिकल स्रोतको अभाव थियो। जसरी अहिले नेपालमा छ। तर चीनले त्यो मेडिकल सामग्रीको अभाव हुन दिएन। स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कवच (पीपीई), एन९५ मास्क र अन्य सर्जिकल मास्क लाखौको संख्यामा उत्पादन बढाइयो। नेपालमा भने मास्क उत्पादन र अन्य मेडिकल सामग्री तयारी गर्न सरकारले एक महिनाअघि कुनै कदम चालेन। नेपालका स्टोरमा भएका मास्क, सेनिटाइजरलगायतको सामग्री चीनतिर निर्यात भए। नेपालका राजधानी लगायतका सहरमा सेनिटाइजर, मास्कको हाहाकार भयो र अहिले पनि छ। स्वास्थ्यकर्मीले सुरक्षा पीपीई र एन९५ मास्क, परीक्षण किट केही मात्रामा चीनको गोन्जाओबाट जहाजमा आइतबार मात्र ल्याइएको छ। यो पर्याप्त छैन।

नेपाल माहामारीको ‘एल्लो जोन’मा भएको अवस्थामा मेडिकल सामाग्री जसरी भए पनि यहाँ ‘खन्याउनु’ आवश्यकता छ।

राजधानीबाहिरका स्वास्थ्य संस्थामा अझै सिटामोललगायत आधारभूत औषधि छैनन्। खासगरी धरान, हेटौंडा, नेपालगन्ज, पोखरा, सुर्खेत र धनगढीका प्रमुख अस्पतालमा आवश्यक मेडिकल सामग्री पुर्‍याइनुपर्छ।

३. राजनीतिक दृढता

राजनीतिक दृढता भयो भने सबैखाले महामारीसँग जुध्न सकिने उदाहरण चीनले देखाएको छ। चीनले १९४९ पछि यति ठूलो जनस्वास्थ्य आपतकालीन अवस्था कहिल्यै सामना नगरेको चिनियाँ कम्युनिस्ट पार्टीको बुझाइ छ। राष्ट्रपति सीले यो महामारी सरकारका प्रणाली र क्षमताका लागि परीक्षण भएको बताएका थिए। कोरोनाविरुद्धको ‘जनयुद्ध’ मा सहभागी हुन उपप्रधानमन्त्री सुन छुन्लान वुहान पुगेका थिए।

यतिबेला सरकारको नेतृ त्व गरिरहेको नेकपामा राजनीतिक इच्छाशक्ति भए पनि आवश्यक जनशक्तिलाई कोरोनाविरुद्ध अभियानमा उतार्न सकेको छैन। सरकार आफैले स्वास्थ्यकर्मीको मनोबल बढाउने, उपचार गर्दा प्रयोग हुने सुरक्षा उपकरण उपलब्ध गराउन सकेको छैन। सरकारले उनीहरुको मनोबल बढाउन कुनै कसर बाँकी राख्न हुँदैन। बल्ल नेपाल सरकार तात्दै छ, संक्रमणको महामारी नफैलिँदै सम्हाल्न सक्नुपर्छ।

नेकपा र कांग्रेसलगायत अन्य दलका सांसद यतिबेला के गरिरहेका होलान्? कोरोनाविरुद्ध लड्ने उनीहरु पनि सिपाही हुन्। सांसदहरुले आआफ्नो निर्वाचन क्षेत्रमा कोरोनाविरुद्ध आफ्नो सञ्जालललाई व्यापक प्रयोग गर्नुपर्छ। स्थानीय तहका जनप्रतिनिधिको मुख्य काम नै कोरोनाविरुद्ध लडाइँमा केन्द्रित हुनु आवश्यक छ। नेकपाका नेता तथा कार्यकर्ता दुलामा लुकेजस्तै देखिएका छन्।

चीनले पार्टीका सबै सदस्यलाई कोरोनाविरुद्ध उत्रन निर्देशन र परिचालन गरेको थियो, त्यसरी नै नेकपा, कांग्रेस, समाजवादी, राजपाले नेता तथा कार्यकर्तालाई आआफ्नो तरिकाले परिचालन गनुपर्छ। उनीहरुले आआफ्ना मतदातालाई घरभित्रै बसाउन सके भने मात्रै पनि यो संक्रमण नियन्त्रण गर्न ठूलो सघाउ पुग्न सक्छ।

४. समयमै नीति समायोजन

नेपाल सरकारले अन्तर्राष्ट्रिय, आन्तरिक उडान ढिलै भए पनि बन्द गर्‍यो। यो काम छिट्टै गरेको भए हाल देखिएका संक्रमित व्यक्ति सायद नेपाल आउने थिएनन्। सरकारले समयमै यो नीति ल्याउन सकेन। नेपालमा बस्दै आएका व्यक्तिहरुमा अहिलेसम्म संक्रमण देखिएको छैन। स्कुल, कलेज, विश्वविद्यालय, ठूला बैठक, भोज, भेला, समारोह, सार्वजनिक र निजी यातायात बन्द गरियो। चीनले पनि महामारी फैलिएपछि यस्तै गरेको थियो। नेपाल सरकारले महामारीअघि नै यो काम गरेको छ।

सरकारले महामारी रोक्न लिएको लकडाउन नीति उचित समयमै लिएको हो। दोस्रो चरणमा थप गरी २५ गतेसम्म पुर्‍याएको छ। आवश्यक परे लकडाउन बढाउने र घरभित्रै रहने जनताका लागि अभाव पूर्ति गर्ने आक्रामक कदम चाल्नुपर्छ।

५. आर्थिक व्यवस्थापन सहज

सरकारले कोरोना भाइरविरुद्ध लड्न चाहिने आर्थिक व्यवस्थापन सहज गर्नुपर्छ। चीनले भाइरसविरुद्ध लड्न आर्थिक अभाव हुन दिएको थिएन। यतिबेला भाइरसविरुद्ध लड्न आर्थिक कन्जुस्याइँ गरियो भने मोर्चा जित्न कठिन हुनेछ। चीनले मूल्यवृद्धि नियन्त्रण र कारबाही तीव्र पारेको थियो। लकडाउनमा मनपरी मूल्यमा सामान बेच्ने व्यापारी सलबलाएका छन्। सरकारले यसबारे कठोर कदम चाल्नु आवश्यक छ ।

दैनिक ज्याला मजदुरी गरेर खाने वर्गका लागि सरकारले आर्थिक प्याकेजको घोषणा गर्नुपर्छ। लकडाउन लम्बिने अवस्थामा खाद्य, तरकारीलगायत अत्यावश्यक क्षेत्रमा राहत प्याकेज ढिला नगरी ल्याउनुपर्छ। आइतबार मात्र मन्त्रिपरिषद् बैठकले कोरोना भाइसरले असर गरेका क्षेत्रमा आर्थिक प्याकेज ल्याएको छ। दैनिक ज्यालादारी मजदुरका लागि मुलुक लकडाउन अवधिभर खाने व्यवस्था गर्ने नीति लिएको छ। यो सराहनीय काम हो।

६. पारदर्शिता र समन्वय

नेपाल सरकारले यतिबेला विश्व समुदायसँग आर्थिक सहयोग र त्यसको पारदर्शिताका लागि वचन दिनुपर्छ। सरकारले विश्व बैंक, एसियाली विकास बैंकलगायत संस्थासँग आर्थिक सहयोग लिएर कोरोनाविरुद्ध आर्थिक व्यवस्थापन गर्ने नीति लिएको छ। आवश्यकताअनुसार अन्य शीर्षकको बजेटलाई महामारी रोकथाम र उपचारका लागि रकमान्तर गरी प्रयोग गर्ने निर्णय लिएको छ। यो कामले कोरोना भाइरसविरुद्ध लड्न सघाउ पुर्‍याउनेछ।

चीन महामारीविरुद्ध विजयोन्मुख भएकाले आवश्यक चिकित्सकीय र अरु आवश्यक सहयोग लिन सक्छ नेपालले। नेकपा अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सीलाई चिठी लेखेर सहयोगका लागि आग्रह गरेका छन्।

नेपालले बिना कुनै हिचकिचाहट चीनसँग खुलेर सहयोग माग्ने बेला हो यो। यसअघि नै चीनले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बेला नेपाललाई सहज छ। त्यस्तै विश्वका स्वास्थ्य संगठनहरुसँग सहयोग लिन सक्छ। खासगरी परराष्ट्र मन्त्रालय समन्वयका लागि अग्रसर हुनुपर्छ।

महामारीका लागि चिनियाँ अधिकारीले पारदर्शिता समन्वयका लागि विश्व समुदायसँग प्रतिबद्धता जनाएका थिए। चीनले महामारी देखिनेबित्तिकै अन्तर्राष्ट्रिय अरु देशलाई उसले पारदर्शिताको प्रतिबद्धता जनायो। सय देशमा उपचार पद्धतिबारे फाइल सेयर गरेको थियो। यतिबला नेपालले अन्तर्राष्ट्रिय समुदायसँग कोरोनाविरुद्ध लड्नेबारे सहकार्यको प्रस्ताव गर्न सक्नुपर्छ।

७. विज्ञानको शक्ति र प्रविधि

कोरोना भाइरस महामारी भएपछि चीनलाई पनि कसरी उपचार गर्नेबारे थाहा थिएन। विज्ञान र प्रविधि योसँग लड्ने शक्तिशाली हतियार थियो। यसमा नेपालले चीनको विज्ञान र प्रविधिको हतियार सापटी लिनुपर्छ।

चीनले अनलाइनबाट बिरामीलाई सेवा दिएको थियो। नेपालले पनि टेलिफोनबाट चिकित्सकसँग सेवा दिन सुरु गरेको छ। यो सराहनीय काम हो। नेपालले यो भाइरसको रोकथामका लागि सक्दो सूचना प्रविधि प्रयोग गर्नुपर्छ। –कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया