लामो समय नेपाली कांग्रेसमा राजनीति गरेका र हाल अमेरिकामा रहेर देबप्रकाश त्रिपाठीको “मातृभूमिका लागि नेपाली” अभियानमा सक्रिय मिन बहादुर थापाले आफ्नै पार्टीका नेता डा. शेखर कोईरालाको चर्को आलोचना गरेका छन् ।

कांग्रेसका नेता डा. कोईरालाले हालै पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैलीको विरोध गर्दै अभिव्यक्ति दिएपछि थापाले डा. कोईरालालाई विगततिर फर्केर हेर्न सुझाब दिएका छन् । लामो समय नेपाली कांग्रेस मोरङको जिल्ला सदस्य रहेका थापा नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छादारपछि नेपाल विद्यार्थी संघ, मोरङका सभापति बनेका थिए ।

तत्कालीन पार्टी सभापति गिरिजा प्रसाद कोईरालाप्रति विमति राख्दा चरम विभेदको शिकार बनेका थापाको क्रियाशील सदस्यता समेत रोकिएको थियो । त्यतिवेला धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रहेका डा. कोईराला राजनीतिमा आएकै थिएनन् । कोईराला परिवारकै भएका कारण नेपाली कांग्रेसमा सहजै स्थापित भएका डा. कोईरालाले केही समय अघि पार्टी सभापति देउवाको कार्यकालमा व्यापक भेदभाव भयो भनेपछि कार्यकर्ता थापाले आफ्नै काका गिरिजा प्रसाद कोइरालाको कार्यकाल सम्झन आग्रह गरेका हुन् ।

पुराना कांग्रेसी कार्यकर्ता थापाले नेपाली कांग्रेस आजको अवस्थामा पुग्नुमा नेताहरुको मनोमानी र सैद्धान्तिक विचलन नै मुख्य कारण रहेको बताउदै पार्टी बिपि कोईरालाको विचारमा फर्केमात्र यो दूर्दशाबाट मुक्त हुने बताउछन् ।

तपाईको प्रतिक्रिया