काठमाडौँ – हिमेश पन्त युट्युबमा हल्काफुल्का हिट थिए । स्ट्यान्डप–कमेडी गर्थे, आफैं छोटा हास्यफिल्म बनाउँथे । तर, युट्युबको दुनियाँ उनलाई साँघुरो लाग्न थालेको थियो । त्यहीबेला रियालिटी सो आयो, कमेडी च्याम्पियन । उनलाई लाग्यो, ठूलो र फरक दर्शकसम्म पुग्ने माध्यम हो यो । आफ्नो क्षमता देखाउन मात्र होइन, नयाँ ज्ञान सिक्न पाइन्छ, जनसम्पर्क पनि बढ्छ ।

यत्तिबिघ्न फाइदा देखेपछि सोको प्रतियोगी बन्ने निर्क्योल गरे । उत्साही हुँदै साथीहरूलाई सुनाए तर प्रतिक्रिया उनले सोचेभन्दा ठ्याम्मै विपरीत । ‘यति हिट छस्, सुरुमै आउट भयो भने लाजमर्नु हुन्छ । नजा’ साथीहरूले डर मिसाएको प्रेम दर्साए । हिमेश पनि दोधारमा परे, डराए ।
तर, यो डरलाई उनको आत्मविश्वासले जित्यो । अहिले, सोको उत्कृष्ट तीनसम्म पुगेका छन् । भोट माग्न गृहजिल्ला धादिङ पुगेका हिमेशले बुधबारमा फोनमा भने, ‘अब रिजल्टजस्तो आए पनि मलाई हारेको महसुस हुन्न । सोले मलाई धेरै कुरा दिइसकेको छ ।’

कमेडी च्याम्पियनको फाइनल आउँदो शनिबार राजधानीमा हुँदै छ । जहाँ हिमेशसँगै अन्य दुई फाइलनिस्ट सुमन कोइराला र खड्गबहादुर पुनमगरको क्षमताको परीक्षा हुने छ । सोका निर्देशक/निर्माता विशाल भण्डारीका अनुसार विजेताले २५ लाख नगद र एउटा कार पाउने छन् । दोस्रो र तेस्रो हुनेलाई विश्वका विभिन्न देशमा प्रस्तुति दिने अवसर मिल्ने छ ।
रमाइलो त के भने सुमन र खड्ग दुवै च्याम्पियनबाट बाहिरिसकेका प्रतियोगी हुन् । धन्न ! ‘वाइल्ड कार्ड इन्ट्री’ को प्रावधान थियो । यो राउन्डमा उनीहरूको प्रस्तुति यति भव्य रह्यो कि पुनरागमन हुनबाट कसैले छेक्न सकेन । दुवै हाँस्दै भन्छन्, ‘यहाँसम्म आइपुग्नु नै हाम्रो लागि जित हो ।’

सुमनले ‘दल दाइ’ बनेर प्रस्तुति दिएपछि उनीमात्र चर्चित भएनन्, कमेडी च्याम्पियनले नै नयाँ उचाइ पायो । ‘..हुँदैन म बाहिरका दलाली हायर गर्दिनँ । मेरो काम त विष्णु भाइले नै हेर्छ…’ भनेर प्रधानमन्त्री केपी ओलीमाथिको व्यंग्य भाइरल भयो । इटहरीमा भोट मागेर राजधानी फर्किएका सुमनले बुधबार कान्तिपुरसँग भने, ‘एकोहोरो हसाउनभन्दा त्यसमा सामाजिक–राजनीतिक बेथितिमाथिको व्यंग्य मिसाउने प्रयास गर्छु ।’ भोट माग्ने दौडधुपमा उनी बिरामी नै भएछन् ।
सुमन भोजपुरमा जन्मिए, ७ कक्षा पढेपछि उनको परिवार इटहरी झर्‍यो । घरबाट स्कुल तीन किलोमिटर टाढा थियो । जाँदा एक्लै, फर्कंदा पनि एक्लै । हिँडिरहँदा मनमा अनेक कुरा खेल्थे, फिल्ममा देखेका कलाकारको क्यारिकेचर गर्थे तर कसैलाई देखाउँदैन्थे । ती दिन सम्झँदै सुमन भन्छन्, ‘म लजालु र अन्तरमुखी थिएँ । बाहिरफेर होइन, घरकै मान्छेसँग पनि खुलेर बोल्न सक्दैनथें ।’

तिनताका उनलाई सीताराम कट्टेल ‘धुर्मुस’ अचाक्ली मन पर्थ्यो । मनमनै सपना बुने, ‘१२ कक्षा पास गरेर काठमाडौं जान्छु, धुर्मुसलाई भेट्छु, क्यारिकेचर गरेर देखाउँछु, धुर्मुसले सिरियल खेलाइहाल्छन् अनि म कलाकार भइहाल्छु ।’ नभन्दै प्लसटुपछि काठमाडौं आए तर यो सपनाको सहरमा उनको सपना त्यत्तिकै तुहियो । धुर्मुसलाई भेट्ने मलोमेसै मिलेन । दुई/चार महिना राजधानीका गल्लीहरू चहारे । त्यसपछि इटहरी फर्कनुको विकल्प बचेन । भन्छन्, ‘त्यतिबेला खुब हीनताबोध भएको थियो तर मैले गर्न सक्ने केही थिएन ।’

इटहरी फर्किएपछि एफएममा कमेडी कार्यक्रम गर्न थाले । रिपोर्टिङ गर्थे, समाचार पढ्थे । स्टेसन म्यानेजरसम्म भए, स्नातक पनि सकियो । त्यसपछि उनलाई लाग्न थाल्यो, यहाँ गर्न सकिने यत्ति हो, अब काठमाडौं जानुपर्छ । पुरानै सपना लिएर फेरि राजधानी आए, दुई वर्षअगाडि । यसबीच अनलाइनमा रिपोर्टर बने, हास्य–सिरियल ‘भद्रगोल’ र ‘उल्टो–सुल्टो’ मा अभिनय गरे । अभिनय प्रशिक्षण लिए । सुमन भन्छन्, ‘अवसरको खोजीमा भौंतारिरहेको बेला कमेडी च्याम्पियनमा भाग लिएँ । जित्ने होइन, सिक्ने उद्देश्य थियो ।’
सोबाटै सुमनले हजारौं फ्यान कमाए, उनका हरेक प्रस्तुतिले युट्युबमा लाखौं भ्युज पाएका छन् तर उनलाई यसले खास फरक पर्दैन रे । किन ? भन्छन्, ‘म बल्ल शून्यबाट एकतिर बढ्दै छु । यो मेरो सिक्ने समय हो, प्रशंसामा रमाउने होइन ।’

खड्गको कथा अझ रोचक छ । यसमाने कि, उनी जित्न त पर जाओस्, सिक्न पनि होइन, बुझ्नका लागि मात्र कमेडी च्याम्पियनमा पुगेका थिए । उनलाई कमेडी कसरी गर्ने, थाहै थिएन रे ! तर, अहिले उपाधिको नजिक पुगेका छन् । प्रतिभाको सामर्थ्य यस्तै हुन्छ ।

रोल्पाको जेलवाङबाट खड्ग काठमाडौं आएको तीन वर्ष बित्दै छ । त्यहाँ सडक नाटक गर्थे । यहाँ आएपछि दोहोरी साँझमा नाच्न र गाउन थाले । कमाइ थोरै हुन्थ्यो । त्यसैले आधा दर्जन स्कुलमा नृत्य सिकाउन थाले । यो पैसाले राष्ट्रिय नाचघरमा ६ महिना अभिनय सिके । त्यहाँका साथीमाझ कुनै पात्र बनेर हसिमजाक गर्थे । त्यहीं कसैले सुझाइदियो, कमेडी च्याम्पियनमा जाउ । खड्ग मुस्कुराउँछन्, ‘कमेडी कस्तो हुँदो रहेछ, ठूला–ठूला कलाकारले कसरी गर्दा रहेछन्, हेर्न पाइन्छ भनेर सोमा सम्पर्क गरें । अडिसन देऊ भने, दिएँ, म त छानिएछु ।’ माओवादी सशस्त्र द्वन्द्वको जन्मथलो रोल्पामा सर्वसाधारणले खुब हैरानी खेप्नुपर्‍यो । बोल्न नजानेकै कारण कहिले सरकारी फौज त कहिले विद्रोहीबाट पिटाइ खानुपर्‍यो । यही पीडालाई खड्गले हास्यशैलीमा सोमा पस्किए, खुब रुचाइयो ।

तर, विस्तारै कन्टेन्टको अभाव हुन थाल्यो । लेख्न उस्तै मुस्किल पर्थ्यो । यही कारण उत्कृष्ट २४ बाट आफू बाहिरिनुपरेको विश्लेषण छ उनको । तर दु:ख लागेनछ किनभने त्यहाँसम्म पुग्ने सपना पनि देखेका थिएनन् । ‘वाइल्ड कार्डमार्फत पुन:प्रवेश भएपछिचाहिँ कमेडीको लय पकड्न सकें भन्ने लाग्छ,’ उनले भने । ग्रामीण भेगको मौलिक शैली टपक्कै टिपेर कथाअनुकूल कमेडी गर्न माहिर छन् उनी । राजधानी आएपछि रोल्पा फर्किएका थिएनन् । सोबाट चर्चा कमाएपछि भोट माग्न पुगे । गुमनाम काठमाडौं छिरेका उनको फर्कंदा भव्य स्वागत भयो । धेरैले भने– ‘हाम्रो सान राख्यौं ।’ खड्गलाई सपनाझैं लागेछ । भन्छन्, ‘कमेडीमा यत्रो तागत हुँदो रहेछ । अब थप जिम्मेवार भएर हास्य कलाकारिता गर्छु ।’

हिमेशको हास्य–यात्राचाहिँ स्कुलबाटै सुरु भएको हो । कलेज पढ्न थालेपछि युट्युबतिर आकर्षित भए । भिडियो खिच्न, कमेडी लेख्न अनि अरूलाई खेलाउन पनि चाह बढ्यो । त्यसैले छोटा–छोटा रमाइला भिडियो बनाउँदै युट्युबमा अपलोड गर्न थाले । कमाइ हुन्थेन तर कहिल्यै थाकेनन् । उनको खास रुचिचाहिँ स्ट्यान्ड–अपमा थियो । मौका मिलिरहेको थिएन । अलिपछि कमेडी सर्कल नामक स्ट्यान्ड–अप कमेडीमै केन्द्रित युट्युब च्यानल खुल्यो । त्यहाँ अडिसन दिएर छानिए हिमेश । भन्छन्, ‘६ महिनासम्म पैसा आएन । तैपनि निरन्तर गरियो । पछिचाहिँ भिडियोअनुसार पैसा आउन थाल्यो ।’ डेड वर्ष युट्युबमा बिताएपछि उनी च्याम्पियनको दौडमा सामेल भएका थिए ।
सोले कति लोकप्रिय बनायो, हिमेशले ध्यान दिएका छैनन् । उनकै शब्दमा, सो सिकाइ थलो भएको छ । पहिले एक्लैएक्लै काम गर्थे, सोले समूहमा मिलेर सिर्जना गर्न सिकायो । विषयवस्तु चयन, त्यसको लेखन अनि पफर्मेन्सका नयाँ–नयाँ ‘टेक्निक’ जाने । आत्मविश्वास बढ्यो । हिमेश भन्छन्, ‘मुख्य कुरा त कमेडीका लागि सिक्नुपर्ने धेरै कुरा हुँदो रहेछ भन्ने सिकियो ।’ उनलाई पुरानो पुस्तामा हरिवंश आचार्य खुब मन पर्छ, समकक्षीहरूमा चाहिँ अपूर्व क्षितिज, लेखमणि त्रिताल, आर्दश मिश्रा र सुमन कार्कीका फ्यान हुन् ।

खड्गको स्टोरी टेलिङ अनि सुमनको पात्रप्रधान कमेडीबाट प्रभावित छन् हिमेश । दुवैको पञ्चलाइनले तान्छ । सुमनलाई पनि खड्गको स्टोरी टेलिङ नै मन पर्छ, हिमेशको चाहिँ ‘टाइमिङ’ । दुवैले सामान्य जोक्सलाई पनि रोचक तरिकाले भन्न सक्छन् । त्यस्तै, खड्गको नजरमा हिमेशले सामाजिक–राजनीतिक विषयमाथि तीखो व्यंग्य गर्न अनि सुमनले पात्रको परिधिभित्र रहेर मज्जाले हसाउन सक्छन् । सुमनको जोक्स बनाउने र भन्ने शैली पनि मन पर्छ उनलाई ।

फाइनलको तयारीमा रहेका तीनै प्रतिस्पर्धीलाई एउटा प्रश्न सोधियो– ‘च्याम्पियन बन्यो भने के हुन्छ, बनेन भने के हुन्छ ?’ सुमनको जवाफ थियो, ‘च्याम्पियन भइयो भने २५ लाख र कार हुन्छ । करिअरका हिसाबले तेस्रो र पहिलो हुनुमा खासै अन्तर हुन्न । जे भए पनि कमेडी सिक्न र गर्न छोडिन्न ।’ हिमेश र खड्गको भनाइ पनि सारमा यही थियो । –कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया