काठमाडौं – द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको विषय प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ।

संघले बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेको हो। संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरु देखिनै आवाज उठाएको तर सरोकारवाला निकायले अहिलेसम्म यसबारेमा कुनै कारबाही नगरेकोमा आक्रोश पोखिन्।

महराले आफूहरुले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको सुनाइन्। उनले भनिन्, ‘ममाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण नै भयो। तर, अहिलेसम्म यसबारेमा सरकारले केही कदम चालेन। म कहाँ–कहाँ जान्छु? भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ, उनीहरु मेरो पिछा गरेर हिँडिरहेका छन्। अहिलेपनि मेरो ज्यानमाथि असुरक्षा छ।’

त्यस्तै, उनले आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको जानकारी दिइन्। उनका अनुसार दर्जनौं साथीहरु अहिले पनि पीडामा छन्। उनले भनिन्, ‘नयाँ व्यवसायी साथीहरुलाई आफ्नो साथमा लिएर मलमा घोटाला गर्ने गुण्डाहरु हिँडिरहेका छन्।’ महराले मलमा देखिएको घोटालाबारे सञ्चयकोष बेखवरजस्तै बनेको पनि आरोप लगाइन्। 

कार्यक्रममा मलमा व्यवसाय गर्दै आएकी अजिता सिटौलाले आफूहरुले मलमा भएको अनियमितताको बारेमा बोल्दा उल्टै धम्की खाइरहेको सुनाइन्। उनले सरकारले मलमा भएको आर्थिक घोटालाबारे यथाशिघ्र छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने र मलमा व्यवसाय गर्नेहरुलाई आगामी दिनमा पनि व्यवसायलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्ने माग गरिन् ।

कार्यक्रममा मलमा व्यवसाय गर्दै आएकी संघकी सदस्य अनिता बुढाथोकीले पनि मलमा भएको घोटालाबारे बोल्दा उल्टै ज्यान मार्न खोज्नु कानुनी राज्यको धज्जी उडाउने काम भएको टिप्पणी गरिन् । उनले भनिन्,‘व्यापार व्यवसाय गरिसकेपछि हिसबकिताब सबै क्लियर हुनुपर्छ । हिसाब माग्नेले मागेपछि अरुले दिनुपर्छ।’

तपाईको प्रतिक्रिया