डोटी – डोटी जिल्लाका विभिन्न सामुदायिक तथा कबुलियती वनमा हप्तौँदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

यहाँका वनहरुमा आगलागीबाट सयौँ हेक्टर वन सखाप भएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा आगलागी हुँदा सामुदायिक तथा कबुलियती गरि करिब ७४५ हेक्टरभन्दा बढी वन सखाप भएको छ । डिभिजन वन कार्यालय डोटीका सहायक वन अधिकृत शुरेसचन्द्र डिसीले दिनु भएको जानकारी अनुसार यहाँका सामुदायिक तर्फका कम्तिमा पनि ४५ र कबुलियती तर्फका २ तथा अन्य केही सरकारी वनमा ठूलो आगलागी भैरहेको छ ।

डोटीमा ३६६ सामुदायिक र १९६ कबुलियती वनहरु रहेका छन् । धेरै सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको जोरायल गाउँपालिका-१ काे रानीवन सामुदायिक वनका धीरबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगोले साना बुट्यान र बिरुवाहरु सखाप पारेको छ, नयाँ बिरुवा उम्रन लामो समय पर्खिनुपर्ने अवस्था छ, गर्मीले गर्दा आगो नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीसम्बन्धी जनचेतना जगाउँदा जगाउँदै पनि धेरै वनमा आगो नियन्त्रण गर्न नसकिएको वन कर्मचारीको भनाइ छ । यतिमात्र नभएर वनमा नयाँ घास उम्रने आशाले पनि कहि कतै स्थानियवासी तथा वन उपभोक्ताले नै वनमा आगो लगाउने गरेको स्थानियवासीहरु बताउँछन् ।

अधिका‌ंश वनमा आगो लाग्दा आँखा चिलाउने, सास फेर्न आप्ठ्यारो महसुस हुने, वातावरण धमिलो देखिने जस्ता समस्या आउन थालेको शिखर नगरपालिका २ का स्थानीय शंङ्करबहादुर महराले बताउनुभयो ।

तपाईको प्रतिक्रिया