काठमाडौं– अघिल्लो वर्ष कर्मचारी भर्ना गर्न नपाएको लोक सेवा आयोगले यसपटक आफ्नो कार्यतालिका अनुसार नै भर्ना प्रक्रिया अघि बढाएको छ । कर्मचारी भर्नाका लागि विभिन्न मन्त्रालयले अहिले धमाधम सामान्य प्रशासन मन्त्रालयमा रिक्त दरबन्दीको विवरण बुझाइरहेका छन् । मन्त्रालयहरुले विवरण पठाउने क्रम जारी रहेकाले आयोगले कति संख्यामा विज्ञापन खुलाउँछ भन्ने यकिन भइसकेको छैन । कर्मचारी समायोजनका क्रममा केन्द्रमा साढे ४९ हजार दरबन्दी राखिएकाले सीमित स‌ंख्यामा मात्र विज्ञापन हुने अनुमानविपरीत गत वर्ष भर्ना रोकिएकाले यसपालि ठूलो संख्यामा विज्ञापन आव्हान गरिने आयोगको भनाइ छ ।

सामान्य प्रशासन मन्त्रालयले साढे ६ सय कर्मचारी भर्नाका लागि लोकसेवामा माग पठाइसकेको र यो वर्ष शाखा अधिकृत र त्यसभन्दा माथिका झण्डै १२ सय नयाँ कर्मचारी भर्ना लिइने जनाएको छ । आयोगले प्रदेशमा कर्मचारी भर्नाका लागि विज्ञापन खोल्न संघीय मन्त्रालयले गरेको आग्रह भने अस्वीकार गरेको छ । स्थानीय तहका लागि गरेको विज्ञापन विवादित भएको र प्रदेश लोक सेवा समेत गठन भइसकेको भन्दै आयोगले संघीय मन्त्रालयको आग्रह अस्वीकार गरेको हो ।

स्थानीय र प्रदेश तहमा कर्मचारी भर्नाको अधिकार प्रदेश लोक सेवालाई छ । तर कुनै पनि प्रदेशका आयोगले अहिलेसम्म कर्मचारी भर्नाका लागि विज्ञापन खोलेका छैनन् ।

तपाईको प्रतिक्रिया