विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) लाई पराजित गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको एकदिवसीय खेलमा नेपालले एमसिसीलाई ५ विकेटले पराजित गरेको हो।

पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्र मल्लले खेलमा पहिलो पटक कप्तानी गरेका थिए। एमसिसीले दिएको २०२ रनको लक्ष्य नेपालले ३७.३ ‌ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा विनोद भण्डारीले नटआउट  ५२ रन जोडे। उनले ३ चौका र २ छक्का प्रहार गरे।

भण्डारीसँगै पवन सर्राफ पनि नटआउट ३८ रनको योगदान गरे। पाँचौ विकेटका लागि भण्डारीसँग ६९ रनको साझेदारी गरेका पवनले पनि ४ चौका र २ छक्का हिर्काए।ओपनर इशान पाण्डे ४ रन र कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट भएका थिए।

शरद भेषवाकर २४ रन र दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान दिए। आरिफ शेखले पनि २३ रन नै जोडे। बलिङमा एमसिसीका यासिर आराफतले ३ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसिसी ३९.५ ओभरमा २०१ रन अलआउट भयो।

एमसीसीका लागि विल रोड्सले ५४ रन र ओपनर विली गोड्लम्यानले ५२ रन बनाए।

बलिङमा नेपालका स्पिनरद्वय ललितनारायण राजवंशी र पवन सर्राफले समान ४–४ विकेट लिए। अविनाश बोहरा र करण केसीले समान १–१ विकेट लिए। अब एमसिसी र नेपालबीच मंगलबारबाट तीनदिवसीय खेल हुनेछ।

तपाईको प्रतिक्रिया