बुटवल – सोमबार बिहान ११ बजे। लुम्बिनी प्रादेशिक अस्पतालको स्त्री तथा यौन रोगको ओपीडी अगाडि ठेलमठेल भीड छ। गर्भवती र अन्य महिला तथा पुरुषहरू चिकित्सकको पर्खाइमा छन्। त्यही भीडमा उभिएकी छन्, बुटवल जानकीनगरकी गीता बोहोरा। उनी अस्पताल आएको दोस्रो दिन हो। आइतबार गर्भ परीक्षणका लागि आएकी उनको एक्सरे रिपोर्ट डाक्टरले हेर्न भ्याएनन्। अनि सोमबार बिहान १० बजे नै अस्पताल पुगेकी हुन्।

अघिल्लो दिन बिहान साढे ६ बजे अस्पतालमा आएर टिकट काट्ने लाइनमा उभिनु परेको थियो। जेठाजु टेकबहादुर बोहोराले टिकटको लाइनमा बस्न बिहानै छोरीलाई पठाए। ११ बजेपछि डाक्टर आउँछन् कि भन्दै कुरेका उनीहरूले आइतबार दिनभरिमा पनि एउटा एक्सरे गरेर देखाउन पाएनन्। ‘लाइनमा बसेर रिपोर्ट देखाउँदा देखाउँदै भोलि भनेर डाक्टर निस्किए, आज (सोमबार) पनि १० बजेबाटै कुरेका छौं कोही आएका छैनन्’, उनले भने। साढे ११ बजे ढोकामा रहेको नेमप्लेटमा डा. शीला क्षेत्री र डा. हसिना बनु भित्र लेखिएको थियो। तर उपचार सुरु भएकै थिएन। प्रसूतिका केही डाक्टर निजी क्लिनिकमै व्यस्त थिए।

लुम्बिनी प्रादेशिक अस्पताल मध्यम र विपन्न नागरिकको उपचार पाउने भरोसाको केन्द्र हो। यो अस्पतालबाट वर्षमा करिब २ लाख ३० हजार बिरामीले सेवा लिन्छन्। उपचारका लागि गुल्मी, अर्घाखाँची, पाल्पा, दाङ, प्यूठान, रुकुम, रोल्पा, कपिलवस्तु, नवलपरासी जिल्लाका बिरामी आउँछन्। तर सेवाभन्दा सास्ती बढी पाउने हुँदा सर्वसाधारणले सहज उपचार पाउन सकेका छैनन्। जिल्ला बाहिरबाट उपचार गराउन आउने बिरामीले खर्च र सास्ती दुवै खेप्नु परेको छ।

अस्पतालमा सामान्यतया चिकित्सकहरूले ५ घण्टा समय दिनुपर्छ। तर अधिकांश डाक्टर ३ घण्टा पनि मुस्किलले अस्पतालमा बिताउँछन्। सोमबार साढे ११ बजेसम्म अस्पतालको ओपीडीमा नाक, कान, घाँटीरोग विशेषज्ञ डा. विष्णु शर्मा, बालरोग विशेषज्ञ डा. मनोज कुशवाहा, न्युरोमा डा. सञ्जीवकुमार शाह मात्रै थिए। जनरल फिजिसियन वार्डमा डा. पुष्पराज जोशी र डा. दिनेश गौतम मात्र उपस्थित थिए। उक्त वार्डमा ७ जना डाक्टरको नेमप्लेट झुन्ड्याइएको थियो। बिरामीले ठेलमठेल रहेको मेडिसिन वार्डमा साढे ११ बजेसम्म जम्मा १७ जना बिरामीले परीक्षण गराएका थिए।

१४० नम्बरको टोकन लिएर ढोकामा बसेकी ६८ वर्षीया घमदेवी पाण्डेलाई उभिनै कठिन भइरहेको थियो। ‘आठै बजे अस्पताल आएँ, अहिलेसम्म पालो आएको छैन,’ उनले भनिन्, ‘हनहनी ज्वरो आएको छ, चक्कर लागेर उभिन सकेकी छैन।’

प्रादेशिक अस्पतालका अधिकांश डाक्टर निजी अस्पताल र क्लिनिकमा व्यस्त हुन्छन्। सरकारी अस्पतालमा बढीमा साढे २ घण्टा बिताउने डाक्टरहरूकै कारण बिरामीले सास्ती पाउँदै आएका छन्। अस्पतालमा सोमबार बिरामीको चाप अत्यधिक थियो। भाइरल र डेंगुको डरले उपचार गर्न आएकाहरूको भीड प्रयोगशालामा पनि उस्तै थियो।

नवलपरासीको भूमहीबाट दुई छोराछोरी र एक नाति बोकेर अस्पताल आएकी मीनादेवी बस्याल रुखको छहारीमा बसेर बिस्कुट खुवाउँदै थिइन्। ८ वर्षमुनिका तीनै जनालाई हनहनी ज्वरो थियो। चिसो भुइँमा टुक्रुक्क बसेका केटाकेटीको निधार छाम्दै बस्यालले भनिन्, ‘रगत जँचाउन आएको हो, बुहारी लाइनमा पर्ची काट्न बसेकी छ, पालै आएको छैन।’ भूमहीकै क्लिनिकको औषधि खुवाउँदा निको नभएपछि उनी केटाकेटी बोकेर बुटवल आएकी हुन्। ८ बजे आएकी उनले पौने १२ बजेसम्म रगत जाँचको ‘स्याम्पल’ दिन पाएकी थिइनन्।

डाक्टरले परीक्षण गरेपछि पैसा बुझाउनका लागि अस्पतालमा अर्को लाइन लाग्नुपर्छ। त्यो लाइन पनि टिकट काट्नेभन्दा सानो हुँदैन। एउटा काउन्टरबाट मात्र पैसा बुझ्दा धेरै बिरामीले रगत परीक्षण लगायतका काम गराउनै पाउँदैनन्। परीक्षणको शुल्क तिर्ने समय १२ बजेसम्म मात्रै हुन्छ। डाक्टरहरू नै समयमा नआएपछि पहिलो दिन स्वास्थ्य परीक्षण गर्दैमा सकिन्छ। दोस्रो दिन मात्र बिरामीले डाक्टरलाई ल्याब टेस्टको रिपोर्ट देखाउन पाउँछन्। ‘बिरामी भएको मान्छे कति दिन अस्पताल धाउने ? ’, पैसा तिर्ने लाइनमा बसिरहेका गुल्मीका छमबहादुर छन्तेलले भने, ‘दुई÷तीन वटा काउन्टर बनाए त यस्तो लाइन लाग्नुपर्दैनथ्यो नि।’

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खनालका अनुसार अस्पतालमा डाक्टर आउने समय बिहान १० बजे हो। उनीहरूले कम्तीमा दिउँसो ३ बजेसम्म बिरामीको परीक्षण गर्नुपर्छ। तर अस्पतालमा त्यसको ठीक विपरीत अभ्यास हुँदै आएको छ। १२ बजे अस्पताल पसेका डाक्टरहरू २ नबज्दै निजी क्लिनिकमा पुग्छन्। खनालले कतिपय डाक्टर अध्ययनमा, राउन्डमा हुने भएकाले १० बजे नै ओपीडीमा नदेखिने बताए। ‘आज (सोमबार) त गाइनोको बाहेक अरु डाक्टरहरू हुनुपथ्र्याे,’ उनले भने।

‘बेचिन्छन्’ बिरामी

लुम्बिनी प्रादेशिक अस्पतालमा आउने बिरामीहरूलाई निजीमा जान बाध्य पार्ने गरिएको छ। यसमा डाक्टर र कर्मचारीहरू सक्रिय छन्। ‘३ बजेपछि फलानो क्लिनिकमा आउनुहोला’ डाक्टरहरू बिरामीलाई सिफारिस गर्छन्।

दिनभरि उपचार नपाएर हैरान भएका बिरामी बाध्य भएर अस्पताल अगाडिकै क्लिनिकमा पुग्छन्। दाँत, नाक, कान, घाँटी, प्रसूति, बालरोगका बिरामीलाई निजी क्लिनिकमा पठाउने गरिएको छ। इमर्जेन्सीका चिकित्सकहरूले समेत बिरामीलाई निजीमै जान सल्लाह दिने गरेका छन्। टाढाबाट उपचारका लागि आएका बिरामीहरू निजीमा जान बाध्य छन्। सरकारीमा कम खर्चमै उपचार हुन्छ भन्ने विश्वासले आउने बिरामीहरू अझै धेरै प्रताडित छन्।

बिचरा ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिकका लागि अस्पतालमा सामाजिक एकाइ छ, जहाँ उनीहरूलाई निःशुल्क औषधि वितरण गरिन्छ। एउटा कोठामा रहेको यो एकाइमा वृद्धवृद्धा बस्ने ठाउँसमेत छैन। ७० वर्ष माथिकाहरूले यहाँबाट सेवा लिन्छन्। बिरामीलाई यो कहाँ छ भन्ने थाहापत्तो नै छैन। अस्पतालमा व्यवस्थित सोधपुछ तथा सहायता कक्ष छैन। बिरामीले सोधपुछ तथा सहायता कक्षको अभावमा पाउने सुविधासमेत पाउन सकेका छैनन्।

सोमबार सामाजिक एकाइको ढोकाअगाडि पेटीमै वृद्धाहरू सुतिरहेका थिए। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. खनालले त्यसलाई व्यवस्थित गर्न थालिएको दाबी गरे। पहिला सामाजिक एकाइ रहेको ठाउँमा कृषि विकास बैंकको काउन्टर राखिएको थियो। पछि त्यसलाई हटाएर सामाजिक एकाइ राखिएको थियो।

स्वास्थ्य उपचार बिमा गरेका बिरामीको उपचार पनि अस्पतालमा नाजुक नै छ। दैनिक सरदर ७० जना बिमा सुविधा लिएका बिरामीहरू अस्पतालमा आउने गरेका छन्। तर सरकारले बिमा कार्यक्रममा घोषणा गरेका सुविधा नपाएको गुनासो उनीहरूले गरे।

नाम मात्रैको फार्मेसी

अस्पताल परिसरमा रहेको निजी फार्मेसी हटाएर अस्पतालले आफ्नै फार्मेसी विस्तार गरेको छ। तीन वटा सटरमा सञ्चालित अस्पतालको फार्मेसीमा चिकित्सकले सिफारिस गरेका सबै औषधि भने पाइँदैनन्। सरकारी फार्मेसीमा औषधि नभएपछि बिरामीहरू बाहिरका निजी फार्मेसीमा औषधि महँगोमा किन्न बाध्य छन्।

अस्पतालले निजी फार्मेसीसँगको मिलेमतोमा चाहिनेजति आवश्यक औषधि नराखेको हो। देखाउनका लागि फार्मेसी राखेर औषधि भने निजीकै बिक्री गराउने गरिएको छ। चौतर्फी विरोधपछि अस्पतालले कोठामा सीमित रहेको फार्मेसीलाई विस्तार गरेको थियो। तर अझै पनि यसलाई प्रभावकारी बनाइएको छैन। सरकारी फार्मेसीमा औषधिमा छुट दिइएको छ। बिरामीहरू औषधि किन्नकै लागि बाहिर धाउनु पर्छ।

अस्पतालको फार्मेसीमा अहिले दैनिक डेढ लाख रुपैयाँ बराबरको औषधि बिक्री हुने गरेको छ। यसअघिको जनप्रिय फार्मेसीले ३-४ लाखको औषधि बिक्री गर्दै आएको थियो। अस्पतालको फार्मेसीमा पर्याप्त औषधि हुने हो भने अहिले पनि ३-४ लाख रुपैयाँ बराबरको औषधि बिक्री हुन्छ। फार्मेसीका इन्चार्ज दिपक श्रेष्ठले सुरुवातको समय भएकाले औषधि पर्याप्त नपाइएको जवाफ दिए।

लुम्बिनी प्रादेशिक अस्पतालबाट ज्येष्ठ नागरिक, विपन्न, प्रसूति, नवजात शिशु, पोषण, एनआईसीयू, ओसीएमसी सेवा निःशुल्क पाइन्छ। त्यसका लागि वर्षेनी करोडभन्दा बढी रकम खर्च हुने गरेको छ। तर त्यो लक्षित वर्गको पहुँचमा छैन। प्रसूतिमा सुत्केरी हुनका लागि त्यहाँ कार्यरत डाक्टरको निजी क्लिनिकमा जँचाउनै पर्छ। एक पटक पनि नजँचाउनेहरू ज्यानको जोखिम मोलेरै पालो कुरेर बस्नुपर्छ।

निःशुल्क उपचार र औषधि लिने ज्येष्ठ नागरिकको कथा पनि उस्तै छ। राजनीतिक दलका नेता, सांसद, कर्मचारी र डाक्टरहरूका आफन्तबाहेक अरु विपन्न र ज्येष्ठ नागरिकले बिरलै औषधि पाउछन्। अस्पतालले गत वर्ष मात्र ४५ लाख रुपैयाँको औषधि किनेको थियो, ज्येष्ठ नागरिक र विपन्न समुदायका बिरामीलाई दिनका लागि। स्टोर शाखाका एक कर्मचारीका अनुसार त्यो औषधिको धेरैजसो हिस्सा कर्मचारीहरूका फार्मेसीमा लगिन्छ र बाँकी आसेपासेलाई दिएर नै सकिन्छ। स्टोरमा कार्यरत कर्मचारी बाहिर फार्मेसी चलाएर बसेका छन्। कतिपय औषधि म्याद गुज्रिएर थन्क्याइएको छ। विगतका वर्षदेखि नै लाखौंको औषधि म्याद गुजारेर फाल्ने गरिएको छ।

नियमन कस्ले गर्ने ?

प्रदेशमातहत रहेको अस्पतालको नियमन कस्ले गरिरहेको छ कि छैन, कसैलाई पत्तो छैन। सामाजिक विकास मन्त्रालयले विकास समिति गठनको कानुन बनाइरहेको छ। अस्पतालको सेवाको विषयमा ठोस काम हुनै सकेको छैन।

कर्मचारीहरूका अनुसार अस्पताल प्रशासनकै कारण बिरामीले सेवा पाउन सकेका छैनन्। मेडिकल सुपरिन्टेन्डेन्ट डा. खनालले सही व्यवस्थापन गर्न नसकेको आरोप छ। तर सामाजिक विकासमन्त्री सुदर्शन बरालले उनैलाई ‘काखी च्याप्ने’ गरेको कर्मचारीहरू बताउँछन्। मेसुको निष्क्रियताले डाक्टरदेखि कर्मचारीले मनलाग्दी गर्दै आएका हुन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

चिकित्सकहरूको निजी क्लिनिक मोह, कर्मचारीको कामचोर प्रवृत्ति र प्रशासनको अनियमितताले अस्पताल नाजुक अवस्थामा पुगेको छ। अस्पतालका पूर्वअध्यक्ष बाबुराम भट्टराईले प्रशासन बलियो नहुँदा अस्पताल व्यवस्थित हुन नसकेको बताए। ‘लुम्बिनी अस्पतालले सही व्यवस्थापन पाउन सकेन,’ उनले भने, ‘सुविधासम्पन्न अस्पताल बन्नुपर्नेमा झन् झन् नाजुक बन्दै गयो।’

प्रदेश ५ भरिका अस्पतालमध्ये सबैभन्दा बढी विशेषज्ञ डाक्टरहरू यो अस्पतालमा छन्। उपकरण र शड्ढयासमेत सबैभन्दा धेरै छन्। तर बिरामीले त्यसको अनुभूति गर्न पाएका छैनन्।

तपाईको प्रतिक्रिया