काठमाडौं – ‘अबचाहिँ गरेर खान्छे होला, यत्रो वर्ष घरमै गुम्सिएर बस्दा कम्ता सकस थिएन’, मझेरीमा भाडा माँझिरहेकी छोरीलाई संकेत गर्दै चमेली मगर बोलिन्, ‘पहिला कोठाभित्र नै अनुहार छोपेर बस्थी अहिले त बाहिर हिँड्दा पनि अनुहार देखाएरै हिँड्छे । अलिकति ढुक्क भएको छ मलाई ।’

चमेली मुखसँगै हात पनि चलारहेकी छिन् । कुरा गर्दागर्दै तरकारी चलाइन्, कुकरमा चामल हालेर पखालिन् । अनि खाना खाइरहेका ग्राहकलाई दाल थपिदिइन् । चपिङ बोर्डमा प्याजमाथि चक्कु चलाउँदै भनिन्, ‘यसको जिन्दगी कोठामै गुम्सिएर जान्छजस्तो लागेको थियो तर, भगवानले हेरे… ।’

उनले भित्तातिर नजर लगाइन्, जहाँ झुण्ड्याइएको चारवटा फ्रेममा गौतम बुद्धको फोटो छ । अन्य फ्रेममा केही देउता सजाइएका छन् । चमेली भगवानमा विश्वास गर्छिन् । संगीतामा बढ्दो आत्मविश्वासमा पनि भगवानकै देन देख्छिन् ।

चमेली मगर ५ वर्षअघि वसन्तपुरमा एसिड आक्रमणमा परेकी संगीताकी आमा हुन् । वसन्तपुर जैसीदेवलस्थित एउटा गल्लीमा खाजा घर छ उनको । हामी त्यहाँ पुग्दा घडीमा बिहानको १० बजेको थियो । बाहिर चरक्क घाम चर्किइसकेको थियो । साँघुरो गल्लीमा कर्कसलाग्दो आवाज छोडेर सवारी साधनहरु हुइकिइरहेका थिए ।

तपाईको प्रतिक्रिया