काठमाडौं – पल्सर स्पोर्ट्स अवार्ड २०७५ अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि पाँच खेलाडी मनाेनयनमा परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार खेलाडीको मनोनयन सार्वजनिक गरेको हो।

अवार्डका लागि क्रिकेटर सन्दीप लामिछाने, फुटबल खेलाडी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन पनि मनोनयनमा परेका छन्।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट एसएमएम भोटिङ, फेसबुक लाइक, खेल पत्रकार र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकले प्रदान गर्ने भोटका आधारमा गरिनेछ।

एसएमएस भोटिङको मतभार ५०, फेसबुक लाइकको मतभार २५ तथा खेल पत्रकार र संघका मुख्य प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ। खेलाडीलाई भोट गर्न नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलबाट ३७७२२ नम्बरमा म्यासेज गर्न सकिनेछ।

भोटिङ प्रक्रिया असार १६ गतेसम्म चल्नेछ। विजेताको घोषणा आगामी असार १७ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा गरिनेछ। मञ्चले भोटिङका लागि टीएचटी लाइभसँग आइतबार नै सम्झौता पनि गरेको छ।

तपाईको प्रतिक्रिया